नागढुङ्गामा माइकिङ गर्दै ट्राफिक प्रहरी
थानकोट ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौंका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ।
सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो।
यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए।
विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए।
सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए।
नागढुङ्गा नाकामा ट्राफिक प्रहरीको सक्रियता
काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले सुरक्षालाई प्राथमिकता दिएर यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौंको प्रमुख नाका नागढुंगामा प्रहरीले माइकिङ गर्दै अत्यधिक वर्षाको प्रक्षेपण भएकाले यात्रामा सावधानी अपनाउन भनेको हो ।
वर्षा र बाढी पहिरोका कारण यात्रामा जोखिम हुने भएकाले सुरक्षालाई ख्याल गर्न कुनै खतरा महसुस भए नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन सम्पर्क नम्बर १०० मा फोन गर्न ट्राफिक प्रहरीले भनेको छ ।
प्रहरीले चालक र सहचालकको मोबाइल नम्बर समेत संकलन गरेको छ । विपद परेका बेला यात्रुहरु सुरक्षित छन् कि छैनन् भनेर जानकारी लिन पनि मोबाइल नम्बर नोट गरेको नागढुंगा प्रहरीले जनाएको छ ।
प्रहरीले लामो दुरीका सवारी साधनलाई दुई चालक अनिवार्य रुपमा राख्न, लेन अनुशासन पालना गरेर मात्रै यात्रा गर्न प्रहरीले भनेको छ ।
शुक्रबार बेलुका नागढुंगा हुँदै एक सय सवारी साधनमा ४ हजार २५७ यात्रुहरु बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ । ती सबै सवारी चालक तथा यात्रुहरुलाई सम्भावित जोखिम तथा सुरक्षित यात्राका लागि सुसूचित गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ती सबै सवारी साधनको प्रवेश दर्ता गरी चालकको नाम र सम्पर्क नम्बरसमेत राखिएको हो ।












