पाँच प्रदेशमा विशेष सावधानी अपनाउन प्रधामन्त्री सचिवालयको अनुरोध
थानकोट ।
भारी वर्षाको सम्भावना देखिएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सचिवालयले विपद् पूर्वतयारी र उद्धारका लागि विशेष पहल गर्न सबै निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ ।
सचिवालयले विशेषगरी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाउन मातहतका निकायहरूलाई आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन प्रक्रियामा संलग्न सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैलाई समन्वय गरी विपद् न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन भनिएको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पाँच प्रदेश (कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश)मा मनसुनी गतिविधि सक्रिय हुने पूर्वानुमान गरेको छ । कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने विभागनको पूर्वानुमान छ ।
विभागले नारायणी, वाग्मती, कमला र कोसी नदी एवं तिनका सहायक नदीहरूमा उल्लेख्यरूपमा पानीको सतह बढेर खतरा तहको आसपासमा पुग्ने सम्भावना रहेको जनाएको छ । मनसुनी वर्षाले मधेस प्रदेशका महाभारत र चुरे भई बग्ने ससाना नदीनालामा पनि आकस्मिक खहरे, भेल, बाढी आउन सक्ने सम्भावना देखिएको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन एवं कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूमा पनि आकस्मिकरूपले पानीको सतह बढ्ने अनुमान छ ।














