धादिङमा एक जना महिलाको विभत्स हत्या, छोरा पक्राउ
थानकोट ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकठेरीमा एक जना महिलाको विभत्स हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार थापाकठेरीका ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुर कंडेललाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरी उपरिक्षक रिजालले जानकारी दिए ।
प्रहरी घटनास्थल पुग्दा यमबहादुर आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए ।
हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रिजालको भनाइ छ ।













