विपद्पछिको पुनर्निर्माणमा एक भएर जुट्न नेकपा माओवादी केन्द्रको आह्वान
थानकोट ।
नेकपा (माओवादी केन्द्र)ले विपद्पछिको पुनर्निर्माणमा एक भएर जुट्न आह्वान गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताएका हुन् ।
उनका अनुसार, देशभर आएको भारी वर्षाले पुर्याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गरे । देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोसी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताए । राहत, उद्धारमा संलग्न पार्टीका वाइसीएललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको बताए ।
नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरू सहमत नै रहेको बताए । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गरे । नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठकबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गरे । अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको पनि उल्लेख गरे । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि जिकिर गरे ।
पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरूसँग एकताका लागि पहल जारी राख्ने पनि बताए ।












