चन्दा आतंक बढ्न थालेपछि प्रधानमन्त्री कार्यालयले भन्यो : ‘प्रशासन र प्रहरीलाई तत्काल जानकारी दिनू’

Thankot Times

थानकोट ।

प्रधानमन्त्रीका नाममा चन्दा आतंक बढ्न थालेपछि यसबारे जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अपिल गरेको छ।

हाल विभिन्न जिल्ला तथा क्षेत्रमा केही व्यक्ति तथा समूहले प्रधानमन्त्री तथा कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष तथा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक दान माग तथा संकलन गरिरहेको जानकारी आएको भन्दै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले त्यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न कार्यालयले अनुरोध गरेको छ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले भनेको छ, ‘यस कार्यालय र प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन(प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ।’

देशबाहिर बसी कसैले त्यस्तो अनधिकृत गतिविधि गरेको सूचना वा जानकारी भए सम्बन्धित देशमा रहेको नेपाली नियोग वा कार्यालयमा जानकारी गराउनसमेत प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *