काठमाडौंको ताहाचलमा विष्फोटक पदार्थसहित एकजना पक्राउ
थानकोट ।
काठमाडौं महानगरपालिका–१३, ताहाचलस्थित एउटा गोदाममा प्रहरीले ठूलो मात्रामा पटाका, आतिसबाजी, कपडा र राजस्व छली सामान बरामद गरेको छ। उक्त गोदामबाट भारतको राजस्थानका सुनिल कुमार पक्राउ परेका छन्।
प्रहरीका अनुसार ताहाचल क्षेत्रको एक घरमा अवैध रूपमा विष्फोटक पदार्थ र चोरी पैठारीका सामान भण्डारण भइरहेको भन्ने विशेष सूचनाको आधारमा कारवाही गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले ताहाचलस्थित गोदाममा छापा मारी आतिसबाजी र पटाकासहित अन्य सामान बरामद गरेको जनाएको छ।
प्रहरीले गोदामबाट विभिन्न प्रकारका १,२७१ प्याकेट आतिसबाजी र पटाका, छभम रियाद लेखिएको ५०० ग्रामको पाउडर दूध १६० प्याकेट, प्लास्टिक प्याकमा राखिएका ३२० थान टिसर्ट,१० केजीको बट्टामा रहेको काजु ९४० केजी लगायतका सामान बरामद गरेको जनाएको छ। त्यससँगै गोदामबाट नेपाली नगद दुई लाख रुपैयाँ र भारतीय २५ हजार पाँच सय रुपैयाँ समेत फेला परेको छ।
सुनिल कुमारले ताहाचलस्थित उक्त गोदाम भाडामा लिएर बिना अनुमति विष्फोटक पदार्थ भण्डारण र राजस्व छली सामान बिक्री गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार उक्त कार्यले विष्फोटक पदार्थसम्बन्धी ऐन र राजस्व छलीसम्बन्धी कानूनी प्रावधानको उल्लंघन गरेको हुँदा उनलाई उक्त दुई मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।
दशैं–तिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा पटाका र आतिसबाजीको अवैध कारोबार तीव्र हुने गर्छ। यस्ता विष्फोटक पदार्थले केवल जनसुरक्षामा जोखिम बढाउँछ, बरु राजस्व छली, नक्कली ब्रान्ड, र गैरकानूनी व्यापार पनि फस्टाउँछ।
राजधानीका व्यस्त बस्तीमा यस्ता सामग्री भण्डारण हुनु आफैंमा गम्भीर सुरक्षा चुनौती हो। ताहाचलजस्तै घना आवासीय क्षेत्रमा विस्फोटक पदार्थ राखिँदा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ।
विशेषज्ञहरूका अनुसार यस्ता कारबाहीले सरकार र सुरक्षातन्त्रको निगरानी प्रभावकारी हुँदै गएको सन्देश दिए पनि यसलाई निरन्तरता नदिँदा फेरी यस्तै घटना दोहोरिने सम्भावना रहन्छ।
काठमाडौं प्रहरीका एक अधिकारीका शब्दमा — हामी उत्सवको नाममा जनसुरक्षा जोखिममा पार्ने र राजस्व छली गर्ने कुनै पनि तत्वलाई छोड्दैनौं। यस्तो अवैध कारोबार रोक्न प्रहरीको निगरानीसँगै व्यवसायी र उपभोक्ताको सचेतना पनि अपरिहार्य भएको देखिन्छ।













