प्रधानमन्त्रीले भनिन्- विपीन जोशी सबै नेपाली आमाको छोरा
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताएकी छन् ।
प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै सोमबार प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरूको छोरा भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताइन् । “नेपाली युवाहरूले त्यहाँ अपहरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कष्ट भोगे होलान् । त्यो कुरा हामी अनुभव गर्न सक्दैनौँ । एउटा नेपाली छोरा हामी सबै आमाहरूको छोरा हो । अब कसैले पनि विपीनलाई बिर्सिन सक्दैन,” प्रधानमन्त्रीले भनिन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपीनलाई गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरू ले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले इजरायली सेनालाई विपीनकाे शव हस्तान्तरण गरेको थियो ।












