प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने– सरकारले दह्राे खुट्टा टेकोस्, देश बस्नलायक होस्

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् । समकालीन नेपाली सिनेमाका चर्चित नाै जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न भनेका हुन् ।

‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला । पहिला यो देश बचोस् । देश बस्नलायक होस् । यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस् । हामी साथमा छौँ ।’

निष्कलंक छवि र मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास कायम गरिसकेर घरमा आराम गरिरहेको अवस्थामा यो कठिन परिस्थिति सम्हाल्न आएकामा प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता पनि प्रकट गरे ।

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक ठीक दिशामा अघि बढ्नेछ । यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ ।’

यो परिवर्तन नरुचाएका तत्तहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकोमा पनि कलाकारहरूले चिन्ता व्यक्त गरे । यस्तो दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उनीहरूको आग्रह थियो ।

अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ । सरकारप्रति थप विश्वास र आशा जागेको छ । अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सह्राहना गर्दै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए । ‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन । ढुक्कसँग अघि बढ्नुहोस् । तपाईंको पक्षमा हामी छौँ । देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ । र, यतिखेर सकारात्मकताको खाँचो छ ।’

विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्व नदिन पनि उनीहरूको आग्रह थियो ।
साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रीमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे ।

संगीतकार कालीप्रसाद बाँस्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ । सम्हाल्न गाह्रो छ । अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन् । त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।’ यो सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रुपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तनपक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकहरूले औँल्याए ।

अभिनेता विजय बरालले भने, ‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ । जनताबाट तिरष्कृत एउटा फुच्चे पावर अर्कोतिर छ । त्यसले हामीलाई पेलिरहेको छ । यो कुरा हामी सबैले बुझ्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले छलफलको अन्त्यमा भनिन्, ‘साथ सहयोग सबैको चाहिन्छ । समाजमा तपाईंहरूको प्रभाव छ । दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ । हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ ।’

भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा, कर्मालगायतको उपस्थिति थियो । भेटघाटको संयोजन पुकार बमले गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *