एमाले महासचिव शंकर पोखरेलले कुरा फेरेपछि गृहमन्त्री अर्यालले फेसबुकमै गरिदिए प्रतिवाद

Thankot Times

थानकोट ।

पार्टी तङ्ग्राउने क्रममा एमाले महासचिव शंकर पोखरेलले जेनजी पुस्ताको आन्दोलन बदनाम हुनेगरी फेसबुकमा लेख्न थालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रतिवाद गरेका छन्।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरूलाई गृहमन्त्री अर्यालले प्रहरीमार्फत छुटाउन दबाब दिएको लगायतका हल्लाकाबीच पोखरेलले फेरि फेसबुकमा विवादीत विषयको उठान गरेपछि गृहमन्त्री अर्याल प्रतिवादमा उत्रिएका हुन्।

‘भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानुन अनुसार कारबाही हुनैपर्छ’, पोखरेलले भनेका छन्, ‘विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेन (बालेन्द्र शाह) जी ले राजनीतिक दलहरूलाई दोषारोपण गरेर ‘पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’

गृहमन्त्री अर्याल भने बालेनले निर्देशन दिएको भन्दै लेखिएको कुरामा प्रतिवादमा उत्रिए।

अर्यालले प्रतिवाद गर्दै लेखेका छन्,‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाईं यसरी तथ्यहीन कुरा नगर्नुस् है। मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु। अनि फेरि उही झुट किन दोहोराउनु हुन्छ? पार्टी महासचिव जस्तो व्यक्ति सत्य बुझिबुझी यति हावादारी नबन्नुहोस्। समाजमा हावादारी र गफाडी भडुवाहरूको कमी छैन। तपाईं जस्तो जिम्मेवार व्यक्ति किन थपिनु हुन्छ?’

उनले अगाडि लेखेका छन्,‘हामी सरकारमार्फत् शान्ति सुरक्षा, सुशासन, राष्ट्रिय सुरक्षा, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्छौं।आज भाइटीका मनाउने दिन हो, स्वधर्मको पनि पालना गर्नुहोस्। भाइटीकाको शुभकामना!’


Leave a Reply

Your email address will not be published. Required fields are marked *