सरकार, राजनीतिक दल र जेनजीहरूबीच प्रधानमन्त्रीको सरकारी निवासमा त्रिपक्षीय छलफल हुँदै
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् ।
आज बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।
लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।
निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए।
सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।












