राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुने
थानकोट ।
सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदपूर्ति गर्न माघ ११ मा निर्वाचन गर्ने भएको छ ।
आजको नेपाल सरकार मन्त्रिपरिषद बैठकले आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्ति गर्न निर्वाचन गर्ने निर्णय गरेको हो ।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ ।
१९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।
२० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची-२ मा हेरफेर गर्ने निर्णय गरेको छ ।
यसमा स्वकीय सचिवालयको दरबन्दी हटाउने निर्णय पनि भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
जेन-जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिध सभा निर्वाचन गर्ने म्यान्डेड पाएको छ ।












