आईसीसी विश्वकप क्रिकेट लिग-२ः नेपाल यूएईसँग ५ विकेटले स्तब्ध
थानकोट ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पाँच विकेटको हार व्यहोरेको छ ।
नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
यूएईको जितमा ओपनर ब्याट्सम्यान आर्यांश शर्माले सर्वाधिक ९८ रनको महत्त्वपूर्ण पारी खेले । कुल ९८ बलको सामना गरेका शर्मा शतक बनाउनबाट दुई रनबाट चुके । उनलाई नेपालका स्पिनर सन्दीप लामिछानेले आउट गरेका थिए ।
त्यसअघि, अर्का ओपनर अलिशान शराफुले २६ बलमा आक्रामक ४५ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिएका थिए । उनलाई करण केसीले आउट गरेका थिए ।
मध्यक्रममा राहुल चोपडा १५ रन बनाएर आउट भए । मुहम्मद वसिमले ४६ बलमा २६ रनको योगदान दिए । यस्तै, ध्रुव पराशरले १९ बलमा १६ रन र जाहिद अलीले १९ बलमा ११ रन जोडेका थिए ।
नेपालको बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरको स्पेलमा ३४ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए । लामिछाने बाहेक करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट हात पारे ।
प्रतियोगिता अन्तर्गत शनिबार नेपालले शनिबार संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ ।
तस्बिरः क्यान













