`मोन्था´पछि अर्को प्रभाव, बुधबार फेरि वर्षा र हिमपातको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आउँदो बुधबार (कात्तिक १९) फेरि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हालको वर्षा रोकिएर अर्को मौसम प्रणालीले पानी पार्ने मौसमविद्ले उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले मंगलबार (कात्तिक १८) बेलुकादेखि पश्चिम नेपालमा वर्षा र हिमपात हुन सक्ने बताएका छन् । “…अलि कमजोर पश्चिमी वायु आउँदै छ मंगलबार बेलुकादेखि पश्चिम नेपालमा वर्षा लिएर,” उनले शनिबार (कात्तिक १५) मध्याह्न सामाजिक सञ्जालमा लेखेका छन् ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को असर देशमा अझै बाँकी रहेको उनले जनाएको छ । त्यसकै प्रभावले शनिबार बिहानैदेखि काठमाडौंलगायत आधा पूर्वी नेपालमा वर्षा भइरहेको उनको भनाइ छ ।

“आज बिस्तारै मौसममा सुधार हुदै बेलुकासम्म सूर्यको दर्शन पाउने सम्भावना छ र भोलिदेखि मौसम सफा भए पनि अपराह्नमा आधा पूर्वी नेपालमा वर्षाको सम्भावना अझै देखिन्छ,” उनले लेखेका छन् ।

बुधबार भने पश्चिमी वायुको प्रभावले काठमाडौंसम्म वर्षाको सम्भावना उनले औँल्याएका छन् । “हल्का वर्षाले काठमाडौंसम्म छुन सक्छ बुधबार,” उनले भनेका छन्, “हिमाली भेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउँ हेर्न अहिले नै नजानुहोला है !”

सोमबार र मंगलबार (कात्तिक १७ र १८) किसानले धान भित्र्याउन सक्ने उनको सुझाव छ । “तर, बुधबार फेरि पश्चिमी वायुले पश्चिम र मध्य नेपालमा हल्का वर्षा लेराउन सक्छ,” उनले लेखेका छन् ।

बुधबार हुने पूर्वानुमान गरिएको वर्षा हल्का मात्र हुने उनले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले भने देशमा हाल पश्चिमी वायु र अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *