आईसीसी विश्वकप लिग-२ः १९औं खेलमा नेपाल अमेरिकासँग ४ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।

यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएई, नेपाल र अमेरिका सम्मिलित जारी लिगमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ ।

शनिबार अमेरिकासँग चार विकेटले पराजित भएसँगै यस भ्रमणमा नेपाल हालसम्म अंकविहीन बनेको छ ।

अब नेपालको एक मात्र खेल यूएईसँग बाँकी छ । अन्तिम खेलमा जित हासिल गरे २ अंक बटुल्नेछ भने हारेमा अंकविहीन हुँदै फर्किनेछ ।

शुक्रबारको खेलमा २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिए पनि बलिङ र फिल्डिङ दुवै फितलो हुँदा ६ बल बाँकी छँदै चार विकेटले पराजित भयो ।

अमेरिकाको जितका लागि दुई जना ब्याटरले अर्धशतक प्रहार गरे । साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाउँदा मिलिन्द कुमारले ७० रन जोडे । यस्तै सायन जहांगिरले ३६, मोनांक पटेल २१, सुभम रनजनी १९, समित पटेल १६ र हरमित सिंहले १३ रन बनाए ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा नन्दन यादव, करण केसी र गुल्शन झाले १/१ विकेट लिए ।

त्यसअघि टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको पारी खेले । ६७ बलको सामना गर्दै उनले २ चौका र ३ छक्का प्रहार गरे ।  यस्तै करण केसीले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाउनबाट एक रनले चुके, उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको महत्त्वपूर्ण पारी खेले ।

यस्तै कुशल भुर्तेलले ४७ रन बनाउँदा भीम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । बलिङमा अमेरिकाका हरमित सिंहले सर्वाधिक तीन विकेट लिए भने सौरभ नेत्रभालकर र नोस्तुज केन्जीले २/२, जसदीप सिंह र सुभम रनजनीले १/१ विकेट लिए ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *