मध्यरातको स्टाटसले काठमाडाैं महानगरका मेयर बालेन शाह फेरि विवादमा
थानकोट ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन्।
शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए।
पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो। करिब आधा घण्टापछि उनले स्टाटस हटाए पनि त्यसअघि नै स्क्रिनसट भाइरल भइसकेको थियो। हाल सामाजिक सञ्जालमा बालेनको अभिव्यक्तिबारे व्यापक बहस चलिरहेको छ।
धेरैले मेयरको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादाविपरीत बताएका छन् भने केहीले त्यसलाई हास्यात्मक वा प्रतीकात्मक रुपमा लिएका छन्।
विज्ञहरूका अनुसार छिमेकी मुलुकहरूमाथि यसरी सार्वजनिक रुपमा प्रहार गर्नु कुनैपनि मुलुकको हितमा नहुने चेतावनी दिएका छन्।













