जुवातास खेलिरहेको अवस्थामा थानकोट चेकपोष्टबाट घरधनी महिलासहित ६ जना पक्राउ
थानकोट ।
जुवा (कौडा) खेलिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानबाट घरधनी महिला समेत ६ जनालाई गए राति पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहितसमेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै, झापाको गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ४५ वर्षीय भरत कार्कीले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा भरत समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।













