राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् ।
कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना गरिने ‘सामाजिक विकासका निम्ति दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदाइ गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने तालिका रहेको छ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिले भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल गरिने जनाइएको छ । सम्मेलनबाट सामाजिक विकासका निम्ति सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गरिनेछ ।
कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी












