दोलखाको यलुङ री हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, पाँच जना घाइते, चार जना सम्पर्कविहिन
थानकोट ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं.९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ ।
उनीहरु सबै विदेशी पर्यटक रहेका छन् ।
हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् ।
एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ ।
सम्पर्कविहीन आरोहीको खोजीका लागि सोमबार हेलिकप्टर पठाइएपनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताए ।
केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो ।
आज (मंगलबार) मौसमको अवस्था हेरेर हेलिकोप्टर पठाउने तयारी भइहेको डिएसपी महतोले बताए ।
प्रतिकात्मक तस्बिर












