सुन तस्करीमा जोडिएका जीवन चलाउनेको नाउँमा बलम्बुसहित ३२ ठाउँमा जग्गा

Thankot Times

थानकोट ।

सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–४ स्थायी ठेगाना भएका चलाउनेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धान प्रतिवेदनका अनुसार फरार रहेका चलाउनेको काठमाडौंदेखि झापासम्म ३२ ठाउँहरुमा जग्गा भेटिएको छ । सुन प्रकरणमा जोडिएर फरार रहेपछि उनको सम्पत्ति विवरण खोजी गर्दा ३२ ठाउँमा जग्गा भेटिएको हो । ३२ ठाउँका जग्गाको मूल्य १५ करोड ३० लाख ५१ हजार बराबर रहेको उल्लेख छ ।

काठमाडौंमा मात्रै चलाउनेको पाँच ठाउँमा जग्गा भेटिएको छ ।

काठमाडौंका बलम्बु, मुलपानी र गोठाटारमा जग्गा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

बलम्बुको एक ठाउँमा कित्ता नम्बर १४५१ को ०-२-०-२ क्षेत्रफलको जग्गा भेटिएको छ ।

बलम्बुमै कित्ता नम्बर १४६१ को ५९.६२ वर्गमिटर जग्गा भेटिएको छ ।

त्यसैगरी काभ्रेका ९ ठाउँमा चलाउनेको नाममा जग्गा भेटिएको अभियोगपत्रमा उल्लेख छ ।

यी जग्गाहरु काभ्रेको खनालथोकमा रहेका छन् ।

रौतहटका विभिन्न पाँच ठाउँहरुमा पनि चलाउनको जग्गा भेटिएको छ । यस बाहेक झापाको चन्द्रगढीमा मात्रै १३ ठाउँमा चलाउनेका नाममा जग्गाहरु भेटिएका छन् । यी जग्गाहरु जफतका लागि मागदाबी गरिएको छ ।

चलाउनेले विभिन्न बैंकहरुमा जग्गा धितो राखेर १ अर्बभन्दा बढी कर्जा लिएका थिए । कर्जा नियमित नभएपछि बैंकहरुले जग्गा लिलामी प्रक्रिया अघि बढाएका थिए । अनलाइन खबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *