राहदानी वितरण सहज बनाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन
थानकोट ।
प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरण प्रक्रियालाई सहज, सरल र प्रभावकारी बनाउन तत्काल कदम चाल्न निर्देशन दिएकी छन्।
राहदानी बनाउन सेवाग्राहीले सास्ती भोगिरहेको गुनासो बढेपछि प्रधानमन्त्री कार्कीले मंगलबार परराष्ट्र मन्त्रालय र राहदानी विभागका उच्च अधिकारीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्।
बैठकमा प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतका अधिकारीहरूबाट राहदानी छपाई र वितरणको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन्।
उनले राहदानी अभावको अवस्था आउन नदिन र नागरिकले कुनै पनि समस्या झेल्नु नपर्ने गरी काम गर्न निर्देशन दिइन्। सम्भावित समस्याहरूलाई मध्यनजर गर्दै तत्काल विभिन्न वैकल्पिक योजनाहरू सहित अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन थियो।
बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि नागरिकलाई आश्वस्त पार्दै सरकारको प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले लेखेकी छन् ‘आज परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग राहदानी वितरणको अवस्थाबारे जानकारी लिएको छु।नागरिकलाई राहदानी प्राप्तिमा कुनै समस्या नआओस् भन्नेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। मागअनुसार सहज र समयमै राहदानी वितरण सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत छ र छिट्टै प्रभावकारी समाधानका कदमहरू चालिनेछन्।’












