स्काउटको भाडा तिरी जग्गा खाली गर्न पूर्वमन्त्री खड्काको कम्पनीलाई सातदिने मौका
थानकोट ।
नेपाल स्काउटले आफ्नै नाममा रहेको लैनचौरस्थित जग्गामा बनेका संरचना र त्यहाँ रहेका सामान जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।
स्काउटले सार्वजनिक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बाँकी भाडा रकम बुझाउन र स्थान खाली गर्न निर्देशन दिएको हो ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनी हो ।
सार्वजनिक सूचनाअनुसार, काठमाडौं महानगरपालिका–२६ (साविक वडा नम्बर २९) लैनचौरस्थित खानी विभागसँग सिमाना जोडिएको कित्ता नम्बर १० को तीन रोपनी रैकर जग्गा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । तर, उक्त सम्झौताको अवधि २०७५ सालमा समाप्त भइसके पनि कम्पनीले जग्गा खाली नगरी निरन्तर भोगचलन गर्दै आएको स्काउटको भनाइ छ ।
उक्त विवाद जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्म पुगेकामा उच्च अदालतले ०७९ असार १३ गते दिएको अन्तिम फैसलाले नेपाल स्काउटका पक्षमा फैसला गरेको थियो ।
त्यसपछि पनि कम्पनीले अदालतको आदेश र पटकपटकको पत्राचारको अवज्ञा गर्दै बाँकी भाडा रकम नतिरेको र स्थान खाली नगरेको स्काउटले जनाएको छ ।
स्काउटले स्थानीय प्रशासन ऐन, २०५२ र मुलुकी देवानी संहिता, २०७४ का प्रावधानअनुसार यसअघि ३५ दिने सूचना जारी गरी स्थान खाली गर्न निर्देशन दिइसकेको थियो । तर, अझै पनि सम्झौता अनुसारको दायित्व पूरा नभएको भन्दै स्काउटले अन्तिम चेतावनीस्वरूप सात दिनभित्र भाडा चुक्ता गरी जग्गा खाली गर्न सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, “निर्धारित समयावधिभित्र भाडा चुक्ता नगरेमा सम्झौताको बुँदा नम्बर ४ र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ का दफा ६१९, ६२०(४) र ६२१ बमोजिम उक्त जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामग्री जफत गरिनेछ ।”












