चन्द्रागिरिमा दिनदहाडै २६ लाख रुपैयाँ बराबरको धनमाल चोरी
थानकोट ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो शृङ्खलाबद्ध चोरी भएका छन्।
एकैदिन तीन स्थानबाट सुन, चाँदीका गरगहना र नगदसहित ५२ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित यादवप्रसाद पन्थीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
पन्थीको घरमा कोही नभएको मौका छोपी चोरले घरको मुल ढोकाको ताल्चा फोडीभित्र धनमाल चोरी गरेको प्रहरीकोमा उजुरी परेको हो । चोरले ४ थान सुनको सिक्री, ५ थान सुनको औठी,सुनको तिलहरी, नौगेडी , मंगलसुत्र, बाला,सुनको चन्द्रमा लगायतका ११ तोला भन्दा बढी सुनका गरगहना चोरी लगेको उजुरीमा उल्लेख छ ।
कीर्तिपुर नगरपालिका–१, चाँदनीचोक डेरा गरी बस्ने विकाश श्रेष्ठको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
यता, ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल सक्षम टोल बस्ने गजेन्द्र प्रधानको घरबाट नगद, सुन तथा चाँदीका गरगहना गरी करिब १८ लाख ३८ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको र यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।












