जेनजी आन्दोलन जाँचबुझ आयोगबाट प्रहरीको बयान लिन शुरू, डीएसपी गिरी र थापाले दिए बयान

Thankot Times

थानकोट ।

गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले धमाधम प्रहरीको बयान लिन शुरू गरेको छ ।

करिब तीन महिनाको समय पाएको आयोगले पहिलो एक महिना भने प्रहरीसँग आन्दोलनका बेला फिल्डमा खटिएकादेखि जिम्मेवारीमा रहेका मानिसहरूको नामावली खोज्नमै बितायो। तर आयोगले बिहीबार मात्र प्रहरीको पूर्ण विवरण प्राप्त गरेको थियो।

५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगका दुई सदस्यमा विज्ञानराज शर्मा र विपी भण्डारी छन्।

जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरीसँग सम्बन्धित घटनामा ७६ जनाको मृत्यु भएको थियो।

आयोगले २३ गते माइतीघर मण्डलादेखि तिनकुनेसम्म र अन्य महत्वपूर्ण स्थानमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मको सूची प्राप्त गर्नमा एक महिना खर्चेपछि अब ढिलाई गर्ने समय नभएको दावी अध्यक्ष कार्कीले गरे। ‘बल्ल सूची प्राप्त भएको छ। अब धमाधम बयानमात्र हुनेछ,’ अध्यक्ष कार्कीले भने। ‘आयोगले प्राप्त गरेको क्षेत्राधिकारभित्र रहेर जेन-जी घटनाका क्रममा जोडिने सबैसँग बयान लिन्छ। कानुनले कसैलाई छुट दिदैन।’

प्रहरी, सशस्त्र र अन्य सुरक्षा निकायका फिल्डमा खटिएकादेखि कमाण्डर, जिम्मेवार तह र निर्देशन दिने तहसम्मको बयान लिने तयारी आयोगको छ।

आयोगले पहिलो चरणमा फिल्डमा खटिएका प्रहरीहरूसँग २३ गते कसरी गोली चल्ने अवस्था सिर्जना भयो र २४ गते कसरी तोडफोडमा मोडियो भन्ने बारे बयान लिने तयारी गरेको छ।

फिल्डमा खटिएका सुरक्षाकर्मीपछि उनीहरूलाई निर्देशन दिने अधिकृत हुँदै प्रहरी नेतृत्व आईजीपीसम्म पुग्ने र सुरक्षा परिषद्का सदस्य तथा प्रमुख जिल्ला अधिकारीहरूलाई बयान लिने आयोगको तयारी छ।

जेनजी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनको कमाण्डरका रूपमा खटिएकी डीएसपी एलिजा गिरीले पनि बिहीबार सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेर बयान दिएकी छन् । कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि त्यहाँ बयान दिएका छन् । 

थापा जेनजी आन्दोलनका घाइते तथा जिल्ला प्रहरी परिसर सुरक्षाका खटिएका बापत प्रहरी दिवसमा पुरस्कृत भएका थिए ।

गिरी भदौ २३ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनको सुरक्षाका निम्ति खटिएकी थिइन् ।  हाल उनी थानकोट प्रहरी वृत्त प्रमुखका रुपमा कार्यरत रहेकी छन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *