मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा
थानकोट ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
यसअघि शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का दुई सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो।
मतदानमा पराजय निश्चित देखेपछि मुख्यमन्त्री सोनललगायत सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएका थिए।
प्रदेश सभा बैठकबाट बाहिरिएलगत्तै मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
यो सँगै गत असोज २९ गते ५ दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलको सरकार ३९ दिनमै ढलेको छ।












