शिक्षक र प्राध्यापकहरू राजनीतिक गतिविधिमा देखिए कारबाही गरिने शिक्षा मन्त्री पुनको चेतावनी
थानकोट ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राध्यापक, सामुदायिक विद्यालयका शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पुनले आइतबार ध्यानाकर्षण पत्र जारी गर्दै भनेका छन्, “सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी पेसागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ । कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।”
मन्त्रालयको आधिकारिक इमेल, टेलिफोन, ह्वाट्एपलगायत विभिन्न सामाजिक सञ्जालमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट जनगुनासो आएको मन्त्री पुनले जनाएका छन् ।
साथै, विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगठनहरूलाई मन्त्रालयले मान्यता नदिने मन्त्रालयले निर्णय गरेको छ ।
हेराै मन्त्री पुनले जारी गरेको ध्यानाकर्षण पत्रः

फाइल फोटो












