नगरप्रमुखको घरमा आगजनी गर्ने चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता
थानकोट ।
बुढानीलकण्ठका मेयर मिठाराम अधिकारको घरमा गत भदौ २४ को जेनजी आन्दोलनको नाममा आगजनी र तोडफोड गर्ने चार जनाविरुद्ध आपराधिक उपद्रो कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
मेयर अधिकारीले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काभ्रे तेमाल गाउँपालिका–८ का राजकुमार तामाङ, सोलखुम्बु सोलुदुधकुण्ड–८ का निशान खड्का,ओखलढुङ्गा मोलङु गाउँपालिका–२ का पवन बानियाँ र भोजपुरको भोजपुर नगरपालिका–४ का प्रेमबहादुर कार्कीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ४ बमोजिम मेयर अधिकारीको घर गाडीलगायत अन्य धनमालसमेत गरर जम्मा क्षति भएको १ करोड ८० लाख रुपैयाँ दामासाही हिसाबले क्षतिपूर्ति माग गरिएको छ ।
भदौ २४ मा भएको आगजनी र तोडफोडका क्रममा अधिकारीको घरमा भाडामा लिएर सञ्चालित बिर्यानी हाउस, शम्भु भारतीले सञ्चालन गरेको हाम्रो लिक्वीर, रेडिमेड टेलरिङ, हाम्रो आधुनिक नमुना बचत तथा ऋण सहकारी संस्था र कोठा भाडामा बस्नेहरूको सामानमा क्षति पुगेको जाहेरीमा उल्लेख छ ।












