भोलि मंगलबार चन्द्रागिरिमा जनप्रदर्शन गर्दै नेकपा एमाले, गुर्जुधारामा कोणसभा
थानकोट ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले भोलि (कार्तिक २५) मंगलबार प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।
सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतका अनुसार बिहान ७ बजेबाट सुरु हुने प्रदर्शन नैकापबाट गुर्जुधारासम्म पैदल यात्रासहित हुनेछ ।
नगरका सबै वडा कमिटिका सहभागी नैकापमा भेला भइ प्रदर्शन सुरु हुने उनको भनाइ छ । सो पश्चात गुर्जुधारामा कोणसभा हुने बताइएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले हिजो (कार्तिक २३) एक कार्यक्रममा कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न पार्टीका नेता- कार्यकर्तालाई निर्देशन दिएका थिए ।
उनले झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ/फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन एमाले महासचिव पोखरेलले एमालेजनलाई निर्देशन दिएका हुन्।
साथै जनप्रदर्शनमा तलका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन्।
- -प्रतिगामी षड्यन्त्र मुर्दावाद
- -विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर
- -२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर
- -तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।
- -हत्या, हिंसा, आतंक बन्द गर
- -नेकपा एमाले जिन्दावाद
- -जनताको बहुदलीय जनवाद जिन्दावाद।













