चन्द्रागिरि हिल्समा आक्रमण गर्नेको लोकेशन ट्य्राक जारी, ढिलो चाँडो नियन्त्रणमा लिनेछाैं- प्रहरी
थानकोट ।
भदाै २४ गते अपरान्ह चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित चन्द्रागिरि केबलकारको बटन स्टेशनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको पहिचानको कार्य तिव्र बनाइएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
सोमबार चन्द्रागिरि हिल्समा निरीक्षण भ्रमणका क्रममा प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले सो बताएकी हुन् ।
भदाै २४ गते प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु र प्रहरी प्रभाग नागढुङ्गामा आक्रमण गर्ने ११ जना व्यक्ति पक्राउ परिसकेको जानकारी दिँदै गिरीले उनीहरूमाथि मुद्दा दायर भइसकेको बताइन् ।
ती घटनामा संलग्न भएका अन्य व्यक्तिको पहिचान भइसकेको र पक्राउ गर्ने क्रम जारी रहेको उनको भनाइ छ ।
चन्द्रागिरि हिल्समा आक्रमण गर्नेहरूको पहिचानका लागि विभिन्न कोणबाट अध्ययन भइरहेको जनाउँदै उनले भनिन् ढिलो चाँडो उनीहरूपनि कानुनी दायरामा आउनेछन् ।
सोमबार चन्द्रागिरि नगरमा मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाललगायतको टोलीले चन्द्रागिरि हिल्सको बटन स्टेशनको स्थलगत निरीक्षण गरेको थियो ।












