नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बस्न लागेको हो ।
परिवर्तित परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न असोज २८ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अझै सकिएको छैन ।
निर्णय प्रक्रियामै प्रवेश नगरेको कांग्रेस केन्द्रीय समिति झगडामै रुमलिएको छ । सुरुमा ‘विशेष महाधिवेशन कि नियमित’ भन्ने झगडाबाट पछिल्ला दिनमा ‘पुसमा कि वैशाखमा’ भन्नेमा केन्द्रित छ ।
त्यही विवादबीच कांग्रेसभित्र गुट–उपगुटका बैठक बाक्लिएको छ । तर, केन्द्रीय समितिले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
आजको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।












