तत्कालीन प्रहरी प्रमुख खापुङले काठमाडाैं उपत्यका छाड्न नपाउने
थानकोट ।
जेन-जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्न बनेको आयोगले सुरक्षा संगठन प्रमुखहरूमाथि समेत छानबिन गर्ने नीति अख्तियार गरेको छ ।
जेन-जी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भदौ २३ र २४ गते भएको प्रदर्शनमा भएको मानवीय र भौतिक क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको थियो ।
कार्की आयोगले जेन-जी प्रदर्शनको केही दिनपछि भदौ २८ मा अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको विदेश भ्रमण र उपत्यका छोड्न रोक लगाएको थियो ।
अब आयोगले बिहीबारदेखि मात्रै अवकाश पाएका नेपाल प्रहरी प्रमुख आईजीपी चन्द्रकुबेर खापुङलाई समेत उपत्यका छोड्न रोक लगाएको छ । बिहीबार एक विज्ञप्तिमार्फत आयोगले तत्कालीन आईजीपी खापुङलाई कुनै पनि समय बयानका लागि बोलाउन सक्ने भएकाले विदेश भ्रमण र उपत्यका नछाड्न भनेको हो ।
पछिल्लो समय कार्की नेतृत्वको आयोगले जेन-जी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि भएको बल प्रयोगबारे फिल्डमा खटिएका प्रहरी अधिकारीहरूसित बयान लिइरहेको छ । आयोगले पहिलो चरणमा प्रहरी अधिकारी र पछि अन्य सरोकारवाला निकायसित बयान लिएको जनाएको छ ।
यद्यपि, प्रहरी अधिकारीहरू फिल्डमा खटिएका प्रहरीमाथि आयोगले प्रहरीको मनोबल गिर्ने गरी बयानका नाममा दुःख दिएको गुनासो गर्छन् ।
आयोगले गुप्तचर, नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बलका प्रमुखको समेत बयान लिने तयारी गरेको छ ।












