गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गाको निरीक्षण (फोटो फिचर)
थानकोट ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुङ्गाको निरीक्षण गरेका छन् ।
शनिबार ती दुवै प्रहरी कार्यालयको निरीक्षण गर्दै मन्त्री अर्यालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए । भदाै २३ र २४ को घटनाले प्रहरी कर्मचारीहरूको समेत मनोबल खस्किएकोमा आफू चिन्तित रहेको भन्दै मन्त्री अर्यालले सरकारले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन नियमानुसार व्यवस्था गरिने र गर्न प्रयास भइरहेको बताए ।
सो क्रममा गृहमन्त्री अर्यालले प्रहरी कर्मचारीको रासन सुविधा अन्य सुरक्षा निकायको स्तरमा लैजाने गरी अन्तिम तयारी भएको बताए । उनले भने– ‘अरू सुरक्षा निकायले पाउँदै आएको सरह प्रहरी कर्मचारीलाई पनि रासन सुविधा वृद्धि गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ ।
भदाै २४ गते यी दुवै प्रहरी कार्यालय तोडफोड तथा आगजनी भएका थिए ।
प्रहरी प्रभाग नागढुङ्गा तथा नागढुङ्गा नाकाको सुरक्षा अवस्थाका बारेमा मन्त्री अर्यालले चासो व्यक्त गरेका छन्, सो क्रममा उनले स्थानीय बासीहरू तथा यात्रुहरूसँग समेत कुराकानी गरे ।
यस्तै, थानकोट वृत्तको निरीक्षण गर्दै मन्त्री अर्यालले त्यहाँ विभिन्न अभियोगमा पक्राउ परेका अभियुक्तहरूसँगपनि कुराकानी गरेका थिए ।
निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए ।
प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी थिइन् ।












