चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा चन्द्रागिरि हिल्स नोक्सानीमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा नोक्सानी व्यहोरेको छ , 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले नोक्सानीको प्रमुख कारण जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरि परिसरमा भएको तोडफोड र आगजनीलाई बताएको छ।

घटनापछि रिसोर्टलगायतका सेवा प्रभावित भए भने केबलकारको बटम स्टेसनमा भएको क्षतिको कारण करिब दुई महिना सेवा पूर्ण रूपमा बन्द गर्नु परेको थियो। सेवामै अवरोध आएपछि आम्दानीमा ठूलो गिरावट आएको कम्पनीको निष्कर्ष छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरि हिल्सको कुल आम्दानी १९ करोड ५८ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षमा भने यो घटेर १३ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ।

पर्यटक आगमनमा आएको कमी र सेवा बन्द रहनुले कम्पनीको प्रमुख आम्दानी स्रोतमा प्रत्यक्ष असर पारेको देखिन्छ।

बैंक ब्याजदर घटेकाले कम्पनीको वित्तीय लागतमा भने केही राहत मिलेको छ।

अघिल्लो वर्ष पहिलो त्रैमासमा वित्तीय लागत ४ करोड ४९ लाख रुपैयाँ रहेकोमा, यस वर्ष यो ३ करोड ४१ लाख रुपैयाँमा झरेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *