फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता ६ माघमा
थानकोट ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम आइतबार प्रकाशित गरेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता ६ माघमा तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ ।
उजुरीमाथि जाँचबुझपछि ८ माघमा बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि ९ माघका दिन बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।
सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने छ ।
समानुपातिक तर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट प्रारम्भ हुने आयोगले उल्लेख गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१-२३ गते भित्र आयोगमा निवेदन दिनुपर्ने समय निर्धारित छ ।
२४ मंसिरमा निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ ।
१३ र १४ पुसमा बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्छ ।












