नेपाल प्रिमियर लिग: कर्णालीलाई हराउँदै चितवनकाे विजयी शुरुआत
थानकोट ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हरायो ।
कर्णालीले दिएको १ सय ६७ रनको लक्ष्य चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका रवि बोपाराले ५२, दीपक बोहराले ४२, सेफ जेबले ३८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनायो । कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले १/१ विकेट लिए । आजै दोस्रो खेलमा अहिले दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।














