सांसद् रमा आलेमगरको स्वास्थ्य जटिल, थप उपचारका लागि भारत लैजान चिकित्सकको सुझाव

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत आलेमगरमा  पछिल्लो समय कलेजोको संक्रमण देखिएको बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले जानकारी दिइन् ।

म आज उहाँलाई भेट्न अस्पताल पुगें, उहाँमा कलेजोमा संक्रमण भएको चिकित्सकले बताए, सांसद् श्रेष्ठले बुधबार साँझ थानकोट टाइम्ससँग भनिन् ।

सांसद् रमा आलेमगरको अहिले आइसियूमा राखेर उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।

उनी उपचारका लागि गत साता सो अस्पताल पुगेकी हुन् । 

यसैबीच चिकित्सकहरूले सांसद् आलेमगरको थप उपचारका लागि भारत लैजान सुझाव दिएका छन् ।

उनको उपचारमा सहयोग गर्न निरन्तर खटिइरहेका प्रकाश खड्काका अनुसार चिकित्सकले सांसद् आलेमगरको तत्काल भारत लगि उपचार गर्न सुझाव दिएका हुन् । 

सामाजिक सञ्जालमा उनले बुधबार साँझ सांसद् आलेमगरको थप उपचारका लागि सहयोग गर्न अनुरोध गरेपछि थानकोट टाइम्सले खड्कासँग सम्पर्क गरेर यसबारेमा जिज्ञासा राख्दा उनले भने तत्काल नगद जुटाउन समस्या भएपछि सहयोगको अपील गरेको हुँ, प्रदेश सरकार तथा अन्य निकायबाट समेत उनको उपचारका लागि कुनै पहल नभएपछि सहयोगको लागि अनुरोध गरिएको हो ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरषद् मा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।

आलेमगर २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा समाजवादीबाट बागमती प्रदेश सदस्यमा काठमाडौं क्षेत्र नं १० ख बाट निर्वाचित भएकी हुन् । सो चुनावमा नेकपा समाजवादीबाट बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ चुनाव जित्ने उनी एक्ल उम्मेवार हुन् । सो बखत नेपाली काँग्रेसले समाजवादीसँग तालमेल गरेको थियो । 

हाल उनी नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित भएकी छन् । उनी चन्द्रागिरि नगरपालिका-०३ थानकोटकी स्थानीय हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *