सांसद रमा आले आईसियूमा, भन्छिन्- मेैले नराम्रो कर्म गरेजस्तो लाग्दैन, के को सजाय भोग्दैछु !
थानकोट ।
बागमती प्रदेश सभा सदस्य रमा आलेमगर विगत १२ दिनदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छिन् ।
घरमै बसेर अल्सरको उपचार भइरहँदा थप समस्या देखिएपछि अस्पताल पुर्याइएकी आलेलाई सो अस्पतालको मेडिकल आइसियूमा राखेर उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो थानकोट टाइम्सकर्मी उनलाई भेट्न अस्पताल पुग्दा उनी टोलाइरहेकी थिइन् ।
अन्य सहायता (अक्सिजन) बिनै शैयामा पल्टिरहेकी उनले मधुरो स्वरमा प्रतिक्रिया दिइन् । कलेजो सुकेको भन्ने चिकित्सकले बताउनुभएको छ, नमुना निकालेर थप जाँच गर्न ल्याब लगिएको छ, आइतबारसम्म रिपोर्ट आउनेछ- उनले भनिन् ।
उनका अनुसार परिवारका सदस्यलाई चिकित्सकले थप उपचारका लागि भारत लैजाने मनस्थिति बनाउन सुझाएका छन् । सम्भवत: हामी आइतबार भारत जानेछाैं, सांसद आलेले थानकोट टाइम्ससँग भनिन् ।
मेदान्त अस्पताल जाने गरि तयारी भएको उनको भनाइ छ ।
म ५० वर्षको भएँ, आजसम्म कुनै नराम्रो कर्म गरेजस्तो लाग्दैन, हिँड्दाहिँड्दै यो अवस्था भयो। मैले के को सजाय भोगिरहेको छु ? उनले गहभरि आँसु पार्दै भनिन्…
उनको स्वास्थ्य अवस्था बुझ्न अहिले अस्पताल शुभेच्छुकहरुको लाम लागेको छ। यद्यपि चिकित्सकले भेटघाट सिमितता ल्याउन अनुरोध गरेका छन् ।
फाइल फोटो












