चन्द्रागिरिका सामुदायिक विद्यालयका शिक्षकलाई च्याट जीपीटी-जेमिनाईको सही प्रयोग तालिम

Thankot Times

थानकोट ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सूचना प्रणाली केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूलाई पठनपाठनमा एआईको प्रयोगसम्बन्धी विशेष तालिम प्रदान गरेको छ । शुक्रबार ललितपुरस्थित नास्टको कार्यालयमा ‘इम्पावरिङ द मोर्डन एजुकेटर: टुल्स एन्ड टेक्निक’ शीर्षकको कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

उक्त कार्यशालामा काठमाडौँको चन्द्रागिरि नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापनरत २३ जना विज्ञान शिक्षकहरूको सहभागिता रहेको थियो । नास्टको सूचना प्रणाली केन्द्रका कोअर्डिनेटर प्रदीप ढोडारीका अनुसार तालिममा कक्षाकोठामा एआई टुलहरूको सही र प्रभावकारी प्रयोग विधिबारे प्रशिक्षण दिइएको थियो । माध्यमिक तहका कम्प्युटर विज्ञान पुस्तकका लेखक तथा प्रशिक्षकद्वय सुनिल कुमार घर्ती र राहुल महथाले शिक्षकहरूलाई सहजीकरण गरेका थिए ।

तालिममा च्याटजीपीटी, डिपसिक, जेमिनाई जस्ता एआई टुलहरूको प्रयोग गरी नमुना प्रश्नपत्र तयार पार्ने, शैक्षिक सामग्री निर्माण गर्ने तथा प्रोजेक्ट रिपोर्टहरू बनाउने विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो ।

नेपालमा विद्यमान ‘डिजिटल ग्याप’ कम गर्दै डिजिटल साक्षरता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोअर्डिनेटर ढोडारीले बताए । उनले भने, “शिक्षकहरूले तालिम निकै जानकारीमूलक भएको प्रतिक्रिया दिनुभएको छ । अब नास्टले काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई पनि चरणबद्ध रूपमा एआईसम्बन्धी तालिम दिने योजना बनाएको छ ।”

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *