चन्द्रागिरिमा चिसो बढ्यो, तापक्रम घट्यो, आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस
थानकोट ।
काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो ।
हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजेको मापन अनुसार थप घटेको हो । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले त्यसैअनुसार स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गर्नुभएको छ ।
डाक्टरका अनुसार चिसोले रुघाखोकी, निमोनिया, ज्वरो, मुटु रोग, हृदयघात, श्वासप्रश्वासको समस्या हुन सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगीले स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । न्यानो भएर बस्न, तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह छ ।
अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।












