‘काम गर्ने फुर्सद नभएको भन्दै’ रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिए
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।
राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए ।
बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।
विष्टले थानकोट टाइम्ससँग भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु ।’
पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएको विष्टले बताए ।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं- १० बाट उम्मेदवार थिए ।













