टिकाभैरव मन्दिरको शिला क्रेनको सहायतामा बाहिर निकालिएपछि….
थानकोट ।
आइतबार सामाजिक सञ्जालभर ललितपुरको टिकाभैरव मन्दिरको शिला निकाल्दै गरेको क्रेनको तस्विर देखियो ।
मन्दिरसँगै रहेको विशाल शिला निकाल्दै गरेको ती तस्विरहरुले धेरैलाई पक्कै अचम्म लागेको हुन सक्छ ।
मन्दिरको शिला भत्काउन बिगार्नका लागि होइन मन्दिर पुर्ननिर्माण र शिलालाई पुरानो अवस्थामा फर्काउनका लागि क्रेनको प्रयोग गरिएको हो ।
२०३८ सालको बाढीले पुरिएको शिलालाई पुरानै ठाँउमा ल्याउन क्रेनको सहायता दिइएको गोदावरी ६ का वडाध्यक्ष विष्णुमान महर्जनले ललितखबरलाई जानकारी दिएका छन् । उनका अनुसार शिलाको विधिवत स्थापनासँगै मन्दिर पनि पुर्ननिर्माणको योजना रहेको छ । यसका लागि वागमती प्रदेस सरकारले ७५ लाख बजेट विनियोजन गरेको छ । मन्दिरको पुर्ननिर्माणका लागि प्रदेस सरकारले बहुबर्षिय योजनामा समाबेस गरिएको बताइएको छ ।
गएको बर्ष आएको बाढीले टिकाभैरव मन्दिर बगाएको थियो । वडाध्यक्ष महर्जनले पुरातत्वमा मन्दिरको रेकर्ड नभेटिएकोले बताए । भने, ‘हामी गतवर्ष बाढीले भत्काउनुअघिकै स्वरुपमा पुर्ननिर्माण गर्ने योजना छ ।’ केही बर्षअघि खरको छानो रहेको यस मन्दिरलाई सिमेन्टप्रयोग गरेर निर्माण गरेको स्थानीय बुढापाकाहरु बताउछन् ।
गतवर्ष बाढीले भत्काएको मन्दिरपरिसरमा केही दिनसम्म नाग बसेपछि पुजा गर्ने भक्तजनको भीड थियो ।
मन्दिरलाई पुरानो संरचनामा पुर्ननिर्माण नगर्दा ऐतिहासिक पुरातात्विक महत्व नरहने स्थानीय बुद्धिजीवी बताउछन् । पुरानै संरचनामा मन्दिर पुर्ननिर्माण गर्नसके चीरकालसम्म ऐतिहासिक महत्व रहने र धार्मिक पर्यटकीय स्थलको रुपमा समेत आर्कषण रहने विश्वास छ ।
स्थानीयबासीले मन्दिरपरिसरमा हरेक वर्ष टिकाभैरव जात्रा चलाइन्छ । संसारमै दुर्लभ मानिएको दक्षिणबाट उत्तरतर्फ बग्ने लिलावती, कलाबती र तिलेश्वर नदिको संगम रहेको यस स्थानमा त्रिवेणी घाट रहेको छ । मन्दिरका विषयमा अनगिन्ती किम्बदन्ती बुढापाका सुनाउछन् । मन्दिरसँग राजकुलोको समेत ऐतिकासिक सम्बन्ध रहेको किम्बदन्तीमा उल्येख रहेको छ । यहाँबाट सुरु हुने राजकुलो केही बर्षअघिसम्म पाटनको ढुंगेधारासम्म पुग्ने गर्दथ्यो ।
नेपालमा भएका ६४ शिवलिंगमध्ये टिकाभैरव मन्दिरलाई रामेश्वर शिवलिंगको रुपमा पुजिन्छ ।
तस्बिरः ललितखबरबाट












