नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट शुल्क एक हजारभन्दा बढी लिन नपाइने
थानकोट ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँचबुँदे निर्देशन जारी गरेको छ ।
सोमबार (मंसिर ८) साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णय गर्दै पाँचबुँदे निर्देशन जारी गरिएको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार, चुनावी प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ । यसनिम्ति केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।
कायम भएको अन्तिम मतदाता सूची केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।
यस्तै, यही मंसिर १२ गते साँझसम्म सर्वसहमतिका निम्ति अन्तिम प्रयास गरिनेछ । त्यसो नभएमा मंसिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ ।
केही जिल्लामा प्रतिनिधिको उमेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएको भन्दै त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिको उमेदवारी शुल्क एक हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन दिइएको छ ।
प्रतिनिधि छनोटका निम्ति सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र उक्त कार्यमा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
मंसिर १३ गते देशभरि र प्रवासमा पनि एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।












