नेपाल प्रिमियर लिगः काठमान्डु गोर्खाजसँग लुम्बिनी लायन्स २२ रनले स्तब्ध
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले दोस्रो जित निकालेको छ ।
दोस्रो जित दर्ता गर्ने क्रममा काठमान्डुले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुई/दुई विकेट झारे ।
यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए ।
योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अंक जोडेको छ ।













