एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटः काठमाडाैं १० बाट सन्तोष खड्का निर्विरोध
थानकोट ।
नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिका आकांक्षीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार बुधबारका लागि तय भएको प्रतिनिधि उम्मेदवारहरूको नाम दर्तामा चन्द्रागिरि नगरपालिकाबाट १० जनासहित २२ जनाले नाम दर्ता गराएका हुन् ।
जसअनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रबाट हरिभक्त महर्जन, प्रेम बहादुर शाही, लक्ष्मी थापा सुवेदी, बुद्धलक्ष्मी महर्जन, सन्तोष खड्का, तेजिला थापा, राजु श्रेष्ठ, विन्दु श्रेष्ठ, बसन्ती श्रेष्ठ र राजन श्रेष्ठले नाम दर्ता गराएका छन् । उनीहरुले खुला, महिला र युवा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी नाम दर्ता गराएका छन् ।
जसमध्ये युवा क्षेत्रमा नाम दर्ता गराएका चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थका सन्तोष खड्का महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट निर्विरोध प्रतिनिधि चयन भएको नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० का क्षेत्रीय सदस्य भक्तलाल श्रेष्ठले जानकारी दिए ।
खड्काले युवा क्षेत्रबाट उम्मेदवारी दिएका थिए । सो समुहमा उनको एकल उम्मेदवारी परेपछि स्वतः निर्विरोध भएका हुन् । यद्यपी यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
खड्का नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य समेत हुन् ।
बुधबार मनोनयन गराएका उम्मेदवारहरूको नाममाथि बिहीबार (मंसिर ११) दाबी विरोध गर्न सकिने निर्वाचन कमिटीले जनाएको छ ।
यस क्षेत्रको प्रतिनिधि चयनका लागि मंसिर १३ गते निर्वाचन कार्यक्रमको तालिका तय गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को ११ औं महाधिवेशन यहि मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने तालिका छ।
एमाले महाधिवेशन प्रतिनिधिका लागि काठमाडाैं १० बाट चन्द्रागिरिका १० सहित २२ जनाको दाबी













