चन्द्रागिरिको १ सहित ४८ वटा सामाजिक सञ्जालमाथि प्रेस काउन्सिलबाट कारबाही

Thankot Times

थानकोट ।

प्रेस काउन्सिल नेपालले आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जालमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

काउन्सिल आमसञ्चार माध्यम र सञ्चारमाध्यमसँग सम्बद्ध, साथै सञ्चारमाध्यमकै झल्को दिने गरी सञ्चालित सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रेस काउन्सिलका अनुसार पछिल्लोपटक यस्ता सञ्जालबाट अश्लील, उत्तेजक आचारसंहिताप्रतिकूल सामग्रीको सम्प्रेषण बढ्दै गएकाले विशेष अनुगमन थालिएको छ । गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधीनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने कार्य प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरीत कार्य गर्ने सामाजिक सञ्जालमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

प्रेस काउन्सिलका अनुसार २५ वटालाई आचारसंहिताप्रतिकूल सामग्री सम्पादन/स्थगन गरी काउन्सिललाई जानकारी गराउन साथै अब उप्रान्त त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन एवं सचेत गराइएको छ ।

त्यसैगरी, मिडियाकै झल्को दिने तर दर्ता/अभिलेख नभएका पत्रकारिताकै बदनाम गर्ने गरी सञ्चालित १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्ता/अभिलेख गरी कानुन, आचारसंहिता एवं पेसागत मूल्य मान्यता तथा आचरणको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न/गराउन निर्देशन एवं सचेत गराइएको छ । त्यस्तै, सम्पर्क ठेगाना केही नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *