एएफसी यू-१७ एसियन कप छनोट: नेपाल समुह चरणबाटै बाहिरियो, ओमानसँग ५-० को हार
थानकोट ।
नेपालले एएफसी यू–१७ एसियन कप छनोटमा ओमानसँग लज्जास्पद ५–० को हार बेहोरेपछि छनोटबाट बाहिरिएको छ ।
बुधबार ओमानसँग पराजित भएसँगै नेपालको छनोटको सम्भावना समाप्त भएको हो ।
हारसँगै अंकविहीन नेपाल तालिकाको पुछारमा झरेको छ । प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो । यसअघि नेपालले सिरियासँग ४–२ र म्यानमारसँग ४–० को हार बेहोरेको थियो ।
अब नेपालले छनोटअन्तर्गत आफगानिस्तानसँग एक खेल मात्र खेल्न बाँकी छ । बुधबार म्यानमारको थवुन्ना रंगशालामा ओमानलाई जित दिलाउन टोलीका अल–ममारी अल–शम्सी र अल–हिनाईले समान एक गोल गरे । ओमानले भने दुई आत्मघाती गोल उपहार पाएको थियो । जितसँगै ओमान ६ अंकका साथ तालिको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल हुनेछ ।
तस्बिरः एन्फा













