एनपीएलः-२०२५ मा सुदूरपश्चिम रोयल्सको लगातार चाैथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित
थानकोट ।
जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पारेको छ।
बिहीबार सम्पन्न दिनको पहिलो खेलमा सुदूर पश्चिमले लुम्बिनी लायन्सलााई ७ विकेटले हराएको हो ।
जारी सिजनमा लुम्बिनीको यो लगातार तेस्रो हार हो।
जितको लागि १ सय ४५ रनको लक्ष्य पछाएको सुदुरले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४३ रन बनाएप्छि सुदूरले १४६ रनको लक्ष्य पाएको थियो ।
सुदुरपश्चिम जारी एनपीएलमा अपराजित एक्लो टोली हो ।
उसले ४ खेलमा ८ अंक बनाएको छ।
लुम्बिनीले भने पहिलो खेलमा चितवनलाई हराएपछि लगातार तेस्रो हार बेहोरेको छ। चार खेलबाट २ अंक जोड्दा लुम्बिनीको यात्रा निकै कठिन बनेको छ। उसले अब प्ले अफ संभावनालाई कायमै राख्न बाँकी सबै खेल जित्नुपर्नेछ।
आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ।
आजको खेलमा पोखराले हरियो जर्सी लगाउनेछ। जसमा “ग्लासियर्स म्याटर”लेखिएको हुनेछ।
जनकपुरका खेलाडीहरूले आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्।
आज दुवै टिमको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ। जनकपुरले भने जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगबालामा यो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।













