अब कलंकी-नागढुङ्गा सडकमा पनि गुड्नेछन ‘सडक एम्बुलेन्स’
थानकोट ।
सडक डिभिजन कार्यालय काठमाडौँले सहरका सडकलाई खाल्डाखुल्डी रहित (पटहोल फ्री ) बनाउन नयाँ अभियानको सुरुवात गरेको छ ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय काठमाडौँ परिसरमा सडक पटहोल मर्मत एम्बुलेन्स र पटहोल मर्मतसम्बन्धी एपको उद्घाटन गरेका छन् ।
डिभिजनसँग हाल यस्ता ६ वटा एम्बुलेन्स (मेसिन) रहेका छन् । यो मेसिन पूर्ण रूपमा स्वचालित (अटोमेटिक) छ। यसमा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा वा पानीले सफा गर्ने र खाल्डो पुरेपछि कम्प्याक्सन गर्ने सबै सुविधा एउटै गाडीमा जडान गरिएको छ ।
सडक मर्मतलाई प्रभावकारी बनाउन डिभिजनले एउटा विशेष मोबाइल एप (रोड मेन्टिनेन्ससाइट रेस्क्यु–आरएमएसआर) पनि विकास गरेको छ ।
प्रमुख देवकोटाले भने, ’कुनै ठाउँमा खाल्डाखुल्डी देखिएमा नागरिकले एपमार्फत फोटो खिचेर अपलोड गर्न सक्नेछन् । जीपीएसमार्फत लोकेसनका आधारमा हाम्रो सिस्टममा त्यो खाल्डो ‘रातो सिग्नल’ का रूपमा देखिन्छ। त्यसपछि हामी रुट प्लान गरेर तत्काल मर्मत गर्छौँ। मर्मत सकिएपछि सोही ठाउँको फोटो अपलोड गरेपछि सिस्टममा ‘ग्रीन सिग्नल’ बल्छ।’
सडकमा धेरै जाम नहोस् भनेर अधिकांश मर्मत कार्य बेलुकाको समयमा हुने गरेको छ । अब यो एम्बुलेन्स सञ्चालन पछि इमर्जेन्सी परेको खण्डमा भने दिउँसो पनि मर्मत टोली खटिनेछ ।
यो अभियानलाई ‘पाइलट प्रोजेक्ट’ को रूपमा काठमाडौँबाट सुरु गरिएको र यो सफल भएपछि अन्य डिभिजनहरूमा पनि विस्तार हुने विश्वास प्रमुख देवकोटाले व्यक्त गरेका छन् । दुई महिनाको पूर्व तयारीपछि यो सेवा सुरु गरिएको थियो ।













