… अनि फुटबल प्रतियोगिता जितेका खेलाडीहरू काँधमा अलैंचीका बोरा पुरस्कार बोकेर फर्किए
थानकोट ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवाको तेम्बामा रहेको फङफङदेन झरना, अलैँची तथा होमस्टेको प्रचार गर्ने उद्देश्यले आयोजित फुटबल प्रतियोगिताको उपाधि विजेताले पुरस्कारबापत १ सय २६ किलो अलैँची प्राप्त गरेका छन् ।
उपाधि विजेता, उपविजेता र विधागत तर्फको पुरस्कार विजेतालाई आयोजकले अलैँची पुरस्कार दिन घोषणा यसअघि नै गरेका थिए ।
फाइनल खेल भएको दिन बिहीबारको मूल्य प्रतिकिलो २४ सय रुपैयाँलाई मूल्यांकन गरेर तीन वटा बोरामा अलैँची राखेर पुरस्कार प्रदान गरिएको थियो । दिनभर फुटबल खेलेका खेलाडीहरूले पुरस्कारबापतको बोरा ढाडमा बोकेर फर्किएका थिए ।
प्रथम पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ रहेको थियो । यस्तै उपाधि उपविजेताले ६३ किलो अलैँची पाए । उपविजेता टोलीलाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिएको हो । उपाधि उपविजेतालाई २ बोरा अलैँची प्रदान गरिएको थियो ।
क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि गणेश चोक कर्नर टिम पाँचथरले हात पारेको हो । बिहीबार भएको फाइनलमा हिमाली तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई १-० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि जितेको हो । गणेशचोकका निरोश लिङ्देनले गरेको एक मात्र गोल उपाधि जित्नका लागि निर्णायक बन्यो । यहाँको झरना, अलैँची, होमस्टेको प्रचारप्रसारका लागि गत वर्षदेखि यहाँ मेला लगाउन थालिएको छ ।
मंसिर ७ गतेदेखि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु भएको मेला बिहीबार सकिएको छ ।
तस्बिरः इकान्तिपुरबाट ।












