इन्द्रायणी रथ यात्रा सुरू भएसँगै सात गाउँले रथ जात्रा सुरु, यस्तो छ सात गाउँले जात्राको किंवदन्ती

Thankot Times

थानकोट ।

जात्रा, पर्व, संस्कृति र कलाको धनी काठमाण्डाै उपत्यकाको अर्को एउटा महत्वपूर्ण उत्सव सातगाउँले जात्रा आजदेखि सुरु भएको छ ।

राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको एक यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ ।

यस क्रममा पाँगाको बालकुमारी र विष्णुदेवीको रथ यात्रा हुँदै चन्द्रागिरि नगरपालिका-१५ स्थित बल्खु नदी किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट रथयात्रा गराइन्छ ।

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ ।

आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार भोलि (आइतबार) बिहानै सबै गाउँको रथ सम्वद्ध गुठीयार र गाउँलेले बाजागाजासहित रथमा राखेर मूर्तिहरू बःखु विष्णुदेवी मन्दिरको प्राङ्गणमा पुर्याउनेछन्।

ती रथ यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु खोला किनार आइपुग्ने गर्दछन् । भोलि नै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।

आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् ।

भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् ।

यसैअनुरुप बल्खुमा सतुङ्गलकी देवीको रथ बिना गरगहना पहिल्यै पुर्याइन्छ भने मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै पीठ फर्काएर राखिन्छ । रथ पुर्याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।

जात्राको प्रमुखस्थल बल्खुको नाम पनि शक्तिपीठ सम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकोमा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो ।

यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

स्थानीय मङ्गलदास श्रेष्ठका अनुसार नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालियो त्यसको अपभ्रंस भई हाल यस ठाउँलाई बल्खु भनिएको उनको भनाइ छ ।

त्यसै स्थानमा वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, महेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमात्रिकाको पूजा गरिन्छ ।

स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भएको छ । यसै अवसरमा नेवारी बाजाको टोली तयार गर्ने काम करिब एक साताअघि सुरु भएको थियो ।

मच्छेगाउँका स्थानीय देवकुमार देशारका अनुसार नेपाल भाषामा मुःय भनिने आजका मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा सुरु भएको छ ।

सिंगारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराउने काम गरी सिन्दूरे जात्रासहित बल्खुमा लगिने उनले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *