काठमाडाैं जिल्ला प्रशासनमा दर्ता भएका सङ्घ संस्थाका पदाधिकारीहरूले अनियमितता गरेको गुनासो
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएका सङ्घ संस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए ।
उनका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही सङ्घसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढङ्गबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायत विषयमा पटकपटक गुनासा आएका छन् ।
ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ ।
प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।













